एनआईसी एशियाद्वारा कोरोना सम्बन्धी बीमालेख खरिद गर्न अनलाईन प्रणाली शुरु

बैशाख १८, काठमाडौं – एनआईसी एशिया बैंकले अनलाईनमार्फत बीमा खरिदका लागि छुट्टै डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा डिजिटल पोर्टल https://covid19.nicasiabank.com सञ्चालनमा ल्याएको हो ।

विश्वव्यापी कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले (कोभिड(१९) सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् । यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको हो ।

जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहक महानुभावहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नुहुन्छ । सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गर्दछ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।