प्रसूतिगृहमा सेवा लिन आउनेको संख्या न्यून

बैशाख १६ काठमाडौं – जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका साधन सहज नभएकाले यहाँ टाढाबाट बिरामी आउन नसकेको हुनसक्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा १०० भन्दा बढी महिलाले दैनिक सन्तानलाई जन्म दिने गरेका छन् । काठमाडौँ र उपत्यका बाहिरबाट समेत सिफारिस भएर आउने गरेका थिए । लकडाउनयता दैनिक आठ÷दश जना कम भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताए । ती महिला अस्पतालसम्म पहुँच नभएकाले घरमै सन्तानलाई जन्म दिएको हुनसक्ने उहाँको भनाइ छ । उनले भने, ‘ऊनीहरु अरु स्वास्थ्य संस्था गए वा घरमै सन्तान जन्माए भन्ने बुझ्नुपर्छ ।’

अस्पतालमा अहिले नियमित जाँचका लागि दैनिक १५० देखि २०० सम्म आउने गरेका छन् । सामान्य अवस्थामा ७०० देखि ८०० सम्म आए पनि अहिले लकडाउनकै कारण यो सङ्ख्या कम भएको हो । अस्पतालले पनि आकस्मिक सेवाका लागि बाहेक सामान्य अवस्थामा खाइरहेकै औषधि नियमित गर्न भनिरहेको छ ।

नेपाल सरकारको मापदण्डानुसार नै चार पटकभन्दा कम सेवा लिए मात्रै सेवा नपुगेको मान्न सकिने उनले बताए । सरकारले गर्भवती महिलाले कम्तीमा चार पटकसम्म जाँच गराउनुपर्ने मापदण्ड छ । उनले भने, ‘त्योभन्दा कम हुँदा मात्रै सेवा पुगेन भन्ने हो, अहिले त्यो अवस्था छैन ।’

अस्पतालमा आकस्मिक जाँच गर्न एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेका छन् । अस्पतालले बहिरङ्ग सेवा बन्द गरिए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामीलाई सेवा दिइरहेको अस्पताल निर्देशक डा गौतमले बताए ।

अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, स्यानिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताउनुभयो । यहाँ आउने कुरुवा र बिरामीका लागि पनि अस्पताल हाताभित्र छिर्दा र कुनै वस्तु छोएपछि साबुनपानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई अस्पतालमा भीड नगर्न भनिएको उनले बताए ।

अस्पतालले सङ्क्रमित महिलालाई प्रसूति सेवा पनि दिने उद्देश्यले पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्था गरेको छ । कोभिड–१९ सङ्क्रमित महिला आउँदा पनि उनीबाट अरुमा सर्न नपाओस् भनी छुट्टै श्ययाको व्यवस्था गरिएको हो । जुनसुकै गर्भवती महिलामा सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा गौतमले जानकारी दिए ।

अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले बताउनुभयो । हालसम्म भयावह अवस्था नभएकाले व्यवस्था गरिएको आइसोलेसन कक्ष नै पर्याप्त छ । आगामी दिनमा आवश्यक पर्दा कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उनले जनाए । त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको समेत तयारी भइरहेको छ ।

उनका अनुसार अहिलेसम्म नदेखिए पनि सङ्क्रमण नियन्त्रण गर्न नसकिँदा भविष्यमा गर्भवती महिलालाई समेत देखिन सक्ने भन्दै आवश्यक तयारी गरिएको हो । यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कतिको चाँडो असर गर्छ भनी अहिलेसम अध्ययन भइसकेको छैन । तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीमा पनि असर गर्ने सम्भावना रहेको बताइएको छ । .

लकडाउन शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताइन् ।

रासस