प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण

बैशाख १५, बिराटनगर – प्रदेश नं. १ मा हालसम्म पाँच हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट आइतबारसम्म जम्मा चार हजार ५ सय ४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल एक हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना घर गएका छन् । क्वारेन्टाइनमा ३ सय ८ महिला र एक हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७ सय ६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७ सय ५८ जना रहेका छन् ।