मन्त्रिपरिषद्को बैठक बस्दै, के थपिएला लकडाउन ?

बैशाख १४, काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज दिउसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । लकडाउनका बारेमा थप निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको बताइएको छ ।

शनिबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउनेबारे छलफल गरेको थियो । त्यस्तै समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउनको समयावधि थप गर्न सिफारिस गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यस्तै आन्तरिक र बाह्य हवाई उडानमा गत चैत्र १० गतेदेखि नै प्रतिबन्ध लगाएको थियो ।

हवाई उडानलाई पनि जेठ २ गतेसम्म थप गरिसकिएको छ । लामो दूरीका सवारी साधनको सञ्चालनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका नाममा सम्वोधन गर्दै चैत्र ९ गतेदेखि रोक लगाउने घोषणा गरेका थिए ।
सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार पूरा हुँदैछ ।