बढी मूल्यमा सर्जिकल सामग्री बेच्ने तीन वटा पसललाई कारवाही

बैशाख १३, काठमाडौं – लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र एन–९५ मास्क बिक्रीवितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ ।

उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरीद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पिपिई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार तीन हजार सात सयमा खरीद गरिएको पिपिई सेटको पाँच हजार सात सय (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारवाही गरिएको हो ।

त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीदबिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरे बापत दुई लाख जरिवाना गरिएको छ । सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क बिक्रीवितरण गरेका कसूरमा तीन लाख जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।