सांसद ‘अपरहरण’को छानबिन गरी कारबाही हुनुपर्ने भीम रावलको भनाई

बैशाख १२, काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले समाजवादीका नेता डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा ल्याएको घटनाको छानबिन हुनुपर्ने बताएका छन्। नेता रावलले अध्यादेश ल्याउने कार्यले विगतको दुःखद प्रकरण दोहोरिएको जनाएका छन्।

समाजवादीका नेता काठमाडौं ल्याउने कार्य सत्ताको खेलमा भएको रावलको बुझाई छ। ट्विटरमा नेता रावलले घटनाको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्न माग गरेका छन्। अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याउनुले पार्टीको सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडेको उनले उल्लेख गरेका छन्।

सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेको उनले आरोप लगाए। उनी भन्छन् ‘राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ।’

सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्दछ ।

समाजवादी दललाई फुटाउने अभिप्रायले नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले समाजवादीका नेता यादवलाई काठमाडौं ल्याएका थिए। बस्नेत र श्रेष्ठसँगै पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि जनकपुर पुगेका थिए।