सेती अञ्चल अस्पतालबाट तेस्रो कोरोना संक्रमित डिस्चार्ज

बैशाख १०, धनगढी – सेती अञ्चल अस्पतालबाट तेस्रो कोरोना संक्रमित पनि डिस्चार्ज भएका छन् । मंगलबार र बुधबार जाँच गरिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका –९ का ४१ वर्षका संक्रमित डिस्चार्ज भएका हुन्। सेती अञ्चल अस्पतालले बुधबार उनलाई घर पठाएको छ।

चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो ।

चम्पावतबाट हिँडेर आएका उनीसहितका ७ जना ट्युब प्रयोग गरेर नेपाल छिरेका थिए । ब्रम्हदेबको बाटो महेन्द्रनगरतिर आइरहेका उनीहरुलाई सशस्त्र प्रहरीले समातेर बेदकोट नगरपालिकामा रहेको कृषि पाइलट फार्मको छात्रबासमा बनाइएको क्वारेन्टाइनमा राखेको थियो।

सेती प्रादेशिक अस्पतालबाट कोरोना निको भएर जानेको संख्या तीन पुगेको छ। आइतबार लम्कीका २१ वर्ष, मंगलबार धनगढीको हसनपुरका र बुधबार ४१ वर्षका पुरुष डिस्चार्ज भएका हुन्। सेती प्रादेशिक अस्पतालमा अब धनगढीकी महिला र कैलालीको लम्कीचुहा नगरपालिकाकी ६५ वर्षिया महिला गरी २ जना विरामी उपचाररत छन्।