‘हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।’

बैशाख ९, पोखरा – नुवाकोट ककनीका प्रवीण तामाङसहित चार युवा आज बिहान पोखरा महानगरपालिका—३३ बाघमारास्थित सुनसान सडकमा हिडिरहेका थिए ।

गुल्मीदेखि हिँडेका ती युवाको अन्तिम गन्तव्य भने नुवाकोट जिल्लाको ककनी हो । गुल्मीमा घर बनाउने काम गर्दै आएका उनीहरू बन्दाबन्दीका कारण मजदूरी रोकिएपछि समस्यामा परेका हुन् । बन्दाबन्दी शुरु भएपछि पनि केही दिन त उनीहरूलाई खुल्छ की भन्ने आसा थियो । बन्दाबन्दी खुल्ने छाटकाट नदेखिएपछि अन्ततः हिडेरै भएपनि घरसम्म पुग्ने टुङ्गोमा पुगेको उनीहरूले बताए ।

गुल्मीबाट हिड्दा आफूहरू १२ जनाको समूहमा रहेको अर्का सहभागी कृष्ण तामाङले जानकारी दिए । उनका अनुसार पहिलो दिन पर्वतको कार्कीनेटा आइपुगेका उनीहरू त्यहीँको जङ्गलमा रात कटाएका थिए ।

आइतबार बिहानै हिड्ने क्रममा पर्वतको कार्कीनेटामा सुरक्षाकर्मीले रोकेपछि भने आफूहरू थप समस्यामा परेको उनले बताए। जेनतेन त्यहाँबाट फुत्किएर वैकल्पिक बाटो हुँदै अघि बढे पनि १२ जनाको समूहमा हिड्दा अझै समस्या पर्ने देखेर आफूहरू छुट्टाछुट्टै समूह बनाएर हिडेको उनले बताए ।

सोमबार बिहानै हिडेका उहाँहरू बेलुका पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमारा  आइपुगे । हिँड्दा हिँड्दै थाकेको शरीर, छिप्पिइसकेको रातमा पानी परिरहेका बेला कहाँ ओत लागौं भन्ने चिन्ता रहेका अवस्थामा आइपुगेका बागमारा युवा सङ्गम समूह, पानी ट्याङ्की बरेली चोक टोल विकास संस्थामा आवद्ध युवाहरूले बस्ने व्यवस्था गरिदिए पछि भने निकै राहतको अनुभव भएको अर्का युवा युकेस तामाङले बताए ।

हिड्दा कतै राम्रो त कतै नराम्रो सबै किसिमका व्यवहार देख्दै र भोग्दै अघि बढेको उनको अनुभव छ । आफूहरू अझै न्यूनतम तीन दिन हिड्नुपर्ने बाध्यतामा रहेको बताउँदै उनले भने , “हिड्नुपर्ने धेरै छ, ठाउँठाउँमा विभिन्न अवरोध पनि छन्, के गर्नु यसरी हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।”

रासस