लकडाउनः मजदूरका लागि निःशुल्क गास र बास

–खेमराज गौतम

वैशाख ३, काठमाडौ – कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बागलुङमा अलपत्र परेका मजदूर तथा घर विहीनहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ बागलुङले बागलुङ नगरपालिका—२ स्थित पुरानो शान्ति समितिको कार्यालयमा मजदूरहरुका लागि आश्रय स्थाल निर्माण गरेको हो । उनीहरुका लागि त्यहाँ निःशुल्क आवास र खानाको व्यवस्था गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घको समन्वय र जिल्ला प्रहरी कार्यालय तथा नेपाल रेडक्रस सोसाइटी बागलुङको व्यवस्थापनमा अलपत्र परेका मजदूर तथा घरबारविहीन परिवारका लागि खाने र बस्ने व्यवस्था सहित आश्रय स्थल बनाइएको सङ्घका महासचिव नरेश कंडेलले जानकारी दिए । “बागलुङ जिल्लाका विभिन्न आयोजनामा काम गर्दै आएका मजदूरहरु लकडाउनका कारण अलपत्र पर्दै आएका छन्”, उनले भने, “लकडाउन अवधिभर घर जान नपाएका अलपत्र मजदूर तथा विपन्न परिवारलाई आश्रय स्थलमा खान र बस्नको व्यवस्था गरिएको छ ।”

बागलुङ नगरपालिकाले राहतका नाममा प्रदान गरेको खाद्यान्न पकाएर खाने व्यवस्था समेत नभएपछि अस्थायी रुपमा आश्रयस्थल निर्माण गरिएको हो । सङ्घले उक्त भवनमा हाल १० वेड तयार पारेको छ । आवश्यकता अनुसार आश्रयस्थलको क्षमता विस्तार गर्ने सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए। आश्रय स्थलमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको छ । अहिले चार जनाले त्यहाँ आश्रय लिएका छन् ।

लकडाउनको समयमा पनि खान र बस्नका लागि बागलुङ बजारमा मजदूरहरु भौतारिँदा सङ्क्रमणको सम्भावना देखिएकाले उनीहरुका लागि एकै ठाउँमा खाने र बस्ने व्यवस्था गरिएको हो । आश्रय स्थलमा बसेका मजदूरहरुका लागि खानाको प्रबन्ध जिल्ला प्रहरी कार्यालय बागलुङले गरेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । त्यहाँ बस्नेहरुको सङ्ख्या बढ्दै गएमा सङ्घले आवश्यक खाद्यनन्न सहयोग गर्नेछ । “अहिले थोरै जना हुनुहुन्छ, त्यसका लागि हामीले प्रहरीको छाक काटेर खुवाउन थालेका छौँ,” प्रहरी उपरीक्षक भट्टले भने, “उनहरुलाई सहयोग गर्छौ भनेर अरुले पनि भन्नुभएको छ, धेरै भएपछि सहयोग जुटाएर व्यवस्थपान गर्नेछौँ ।”

लकडाउनका कारण बागलुङ जिल्लाको खानेपानी, सडक तथा वसपार्क लगायतका क्षेत्रमा काम गर्ने मजदूरहरु बागलुङमै थुनिएका छन् ।रासस