वैशाख २, काठमाडौ- प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीका देवबहादुर थापा भारतमा होटलमा काम गर्छन । रोजगारीका सिलसिलामा उनी एक वर्ष अगाडि भारत गएका हुन । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ कारण भारतमा लकडाउन भयो । आफूले काम गर्ने होटल बन्द भएपछि साथीहरुसँगै उनी जन्मथलो प्युठान फर्किए ।
उनीसँगै १६ साथी कपिलवस्तुको कृष्णनगर नाका हुँदै गत चैत १२ गते नेपाल भित्रिएका थिए । उनीहरुलाई तीन दिन कृष्णनगरस्थित क्वारेन्टाइनमा राखियो । प्युठानस्थित आफ्नै गाउँपालिकाले उनीहरुको उद्धार गरेर गाउँपालिकाले निर्माण गरेको ऐरावती २ बरौलास्थित मोती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राख्यो ।
क्वारेन्टाइनमा गाउँपालिकाले खानबस्न व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीको रेखदेख र सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा सबै व्यवस्थापन राम्रो रहेको थापाले बताए । क्वारेन्टाइनको बसाइबाट उनले बाहिर सन्देश दिँदै भने, “सुखदुःख गरेर बसेका छौ, हामीलाई ठीकै छ, तपाईँहरु पनि घरमै सुरक्षित बस्नुहोला ।”
परिवार र समाजका लागि क्वारेन्टाइनमा बस्दा आफूहरुलाई असहज महसुस नभएको थापासँगै क्वारेन्टाइनमा बस्नुभएका तेजबहादुर रानाले बताउनुभयो । गाउँपालिकाले इन्टरनेटको ब्यवस्था पनि गरेको छ । उनले भने, “समय बिताउन र बाहिरका समाचार थाहा पाउन दिउँसो इन्टरनेट चलाउँछौंँ । गाह्रो केही पनि छैन ।”
क्वारेन्टाइनको समय १४ दिनबाट बढाएर २१ दिन राख्ने सरकारी निर्णयपछि सान्त्वना दिन र त्यहाँको अवस्थाबारे अवलोकन गर्न जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुखसहित स्वास्थ्य कार्यालयका प्रतिनिधि बरौला पुगेका थिए । क्वारेन्टाइनमा बसेकाहरुलाई तोकिएको दूरी कायम गरी टाढैबाट सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कार्कीले भने, “तपाईँहरु कुनै कैदी होइन, आफू र आफ्नो घरपरिवार अनि समाजका लागि केही दिन बसिदिनुस् ।”
जिल्ला स्वास्थ्य कार्यालयका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले केही देशमा १४ दिनपछि पनि भाइरस संक्रमण देखिएकाले २१ दिनसम्म राख्नुपर्ने निर्देशनानुसार समय थप गरिएको जानकारी दिए ।
ऐरावती १ दाङवाङ निवासी छमा गाहा मगरको परिवार नै क्वारेन्टाइनमा छ । उनीसँगै पति मोहन र छोराछोरी गरी चार र अन्य ६ सहित १० जना दाङवाङ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका छन । छमा सहित उहाँको परिवार १२ वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दैआएको थियो । उहाँको सिङ्गो परिवार नै चैत १७ गते जन्मथलो प्युठान आएको हो । क्वारेन्टाइन बसाइमा परिवारसँगै रहनुभएका छमाले भने, “कुनै समस्या छैन, हाम्रो हेरचाह गाउँपालिकाले राम्रोसँंग गरेको छ ।” बरु उहाँ क्वारेन्टाइनको २१ दिन बसाइ सकेर घरमा गएर कसरी समय बिताउने भन्ने चिन्ता लागेको बताउछन ।
मल्लरानी गाउँपालिका वडा नं ४ का जीवन नगरकोटी रोजगारीका सिलसिलामा दुई वर्षदेखि दुबइ रहनुभएको थियो । उहाँ चैत १० गते स्वदेश फर्केका हुन । फर्केदेखि नै उनी होम क्वारेन्टाइनमा बसेका छन । उनको स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या देखिएको छैन । नगरकोटीले भने, “बाहिर स्थानीय तहले बनाएका क्वारेन्टाइनका सबै विधि मैले पनि अपनाएको छु ।”
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकानुसार जिल्लामा तीन हजार ८३ जना भारतलगायत विभिन्न तेस्रो मुलुकबाट जिल्लामा भित्रिएका छन् । प्युठानका नौ स्थानीय तहमध्ये सबैले क्वारेन्टाइन निर्माण गरे तापनि ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले मात्र ७५ जनालाई क्वारेन्टाइनमा राखेका छन् ।
जिल्लाका मल्लरानी,, नौबहिनी, सरुमारानी, गौमुखी र झिमरुक गाउँपालिकाले विदेशबाट फर्किएकाहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
जिल्लाका क्वारेन्टाइनमा बसेकाहरुमा अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसी बताउछन। उनले क्वारेन्टाइनमा बसेकाहरुलाई एकापसमा कोरोना संक्रमण नहुने गरी तोकिएकै मापदण्डका साथ व्यवस्थापन गरिएको बताए ।
माण्डवी ४ उदयपुरकोट निवासी २९ वर्षीय उमेश राना भारतको केरलाबाट आएका हुन । भारतमा लकडाउन भएपछि घर फर्कनुभएका राना १२ दिनदेखि भुवनेश्वरी प्राविको क्वारेन्टाइनमा छन । अहिलेसम्म उहाँलाई पनि कुनै समस्या छैन । दाङबाट बहिनीज्वाइँसँगै फर्कनुभएका रानासँगै अहिले क्वारेन्टाइनमा माण्डवी ३ चकचकेमा व्यवसाय गर्दै आउनुभएका रानाका ज्वाइँ उमेश महरा पनि बसेका छन । “भारतबाट आएका जेठानलाई लिन गएको थिएँ, उनीसँंगै मलाई पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनिएपछि बसेको हुँ”, उनले भने, “कोरोना भाइरसका कारण घरपरिवार र समाजमा महामारी नफैलियोस् भनेर बसेको हुँ, अहिलेसम्म ठीकै छ हामी नेपाली कोही कोरोनाका कारण मर्न नपरोस् । ”
भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई अन्य ६ स्थानीय सरकारले होम क्वारेन्टाइनमा बस्न सुझाएका छन् । “हामीहरुले घरमै गएर बस्न सम्झाएका छौंँ”, प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले भने ।रासस