वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण, नारायणी अस्पतालको आइसोलेसनमा उपचार हुँदै

चैत ३०, काठमाडौं – वीरगञ्जमा रहेका तीन भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु केही दिनअघि मात्र भारतबाट नेपाल आएका थिए। तीनमध्ये एक जना दिल्ली र २ जना उत्तर प्रदेशबाट आएका हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
भारतबाट आएका उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका थिए। उनीहरुको त्यहीँबाट नमूना परीक्षण गरिएको हो। उनीहरुसँगै २४ जना भारतीय नेपाल आएका थिए। २४ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हो।

उनीहरुको नमूना परीक्षणका लागि सुरुमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा पठाइएको थियो। उक्त प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएपछि थप पुष्टिका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
जनस्वास्थ्य प्रयोगशालामा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा नै कोरोना भाइरस संक्रमण देखिनेको संख्या १२ पुगेको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने अहिले देखिएका तीन जना भारतीय नागरिक हुन्।