सोसल मिडियामा पुराना फोटाहरुको रहस्य

प्रसान्त कुमार वि.क.

काठमाडौ -नयाँ दिल्ली स्थित नेपाल वायुसेवा निगमको कार्यालयमा कार्यरत मेरा साथी राजेन्द्र बहादुर शाहीले केहि दिन यता अरुले जस्तै आफ्ना पुराना फोटाहरु फेसबुकका भित्तामा पोस्ट्याउदै आएका छन् । एउटा स्टाटसमा “ओल्ड इज गोल्ड” भनेर आफ्नी उनी (पुष्पा शाही) लाई अंगालोमा मायाले बाँधेको बल्याक एण्ड ह्वाइट फोटो छ भने अर्कोमा “भौतिक दूरीमा टाढा तर मनको दूरीले सबै भन्दा नजिक” भन्दै कोल्याज गरि राखीएको फोटो छ । अनि, जसको पुछारमा अंग्रेजी अक्षरमा “स्टे सेफ” भनेर लेखिएको छ । कोरोनाको कहरका बीच धेरै मानिसहरु आफ्ना घर परिवारसँग बसिरहेका बेला उनी भने करिब पाँचसय माइल टाढा नयाँ दिल्लीमा बसेका छन् । यहाँ जस्तै त्यहाँ पनि लकडाउन छ । यस्तो बेलामा आफूले सबै भन्दा नजिक ठानेको मान्छेबाट टाढा हुनु सबै भन्दा पिडादायक कुरा हो । त्यसैले त्यो पिडालाई एकछिन भए पनि भुलाउन वा भनौ अभिव्यक्त गर्न फेसबुकको साहरा लिएका छन उनले । भनिन्छ, जीवनमा सबै कुरा गुमाउने अवस्थामा आफूलाई राख्नु हुदैन् । गुमाउनै नसकिने वस्तुको खोजी गर्नु पर्दछ, त्यो हो प्रेम । सायद, सोसल मिडियामा पुराना फोटोहरु राख्नुको एउटा रहस्य यो पनि हुन सक्छ ।

देशमा लागू भएको लकडाउन सँगै सोसल मिडियामा यस्तै खाले पुराना फोटाहरु पोस्ट्याउने लहर शुरु भएको छ । वा भनौ मानिसहरु नोस्टाल्जीक भएका छन् । आफु जन्मे, हुर्केको ठाउँ, साथी भाईहरु याद आईरहेको छ । अझ, संकटको घडिमा अक्सर यस्तो हुनु स्वभाविक हो । पहिचानको संकट रहेको विश्वमा, अहिले हामी हाम्रो ‘रुट’ तर्फ फर्कदै छौ । कुनै बेला फ्रेन्च दार्शनिक रुसोले ‘ब्याक टु नेचर’ भनेको कुरा अहिले वास्तविक अर्थमा लागू हुदैछ सायद । कोरोना भाइरसको डरका कारण मानिसहरु घरभित्र बस्न विवश छन । परिणामस्वरुप, कुनै बेला मानिसहरुको उपस्थितीले नदेखिएका कछुवाहरु लाखौको संख्यामा समुन्द्री तटमा हिडिरहेको कुरा विविसीले देखाएको थियो । अब उपरान्त कुनै समुद्रीं चराले आहारा ठानेर आफ्नो बचेरालाई चुरोटको ठुटो खुवाउने छैन । ठूला शहरहरुमा लाइट पोलुसनले गर्दा तारा नदेखिने आकाशमा अहिले ताराहरु देखिन थालेका छन् । सदगुरु भन्छन् यदि केहि प्रजातीका जीवहरु संसारबाट लोप भएमा, मानसिको अस्तित्वनै समाप्त हुन्छ । तर मानिस नभएमा अरु जीवलाई केही फरक पर्देन बरु उनीहरु आरामसँग बाँच्न पाउँछन् ।

कुनै समय घरमा आएका पाहुनालाई पानी सँगै फोटोको एलबम थमाइन्थ्यो । विवाह, दशै, तिहारका सादा अनि रंगिन फोटाहरुमा आफ्ना नातेदारहरुलाई चिनाइन्थ्यो । कसै कसैको मा ढोकैमा सबैले देखिने गरी फोटो झुण्डाईएको पनि हुन्थ्यो । मानीसहरुसँग फूर्सद हुन्थयो । सुख, दुःख, खानपीन, सञ्चो विसञ्चो आदि सोध्ने गर्दथे । गाउँमा त अझ खाना खाए पछि दिउँस एक न्याप लिईन्थ्यो । तर, त्यो सबै संसारको दौडमा कतै छुटेको थियो । कोरोनाले फेरी याद दिलाएको छ । त्यसो त मानिस कहिले आफ्नो अतितबाट मुक्त हुन सक्दैन । फोटाहरुमा त्यही अतित लुकेको हुन्छ । फोटो हेर्दा कहिले भावुक त कहिले हाँसो उठछ । कुनै फोटाहरुमा लौ त मलाई चिन म कहाँ छु भनेर सोध्ने गरिन्छ । जीवनको उत्तारर्धमा स्मृतिहरु धुमिल हुँदै जाँदा फोटो एउटा साहरा बन्दछ । फोटो आफैले दर्पणको काम गर्दछ । फोटो इतिहास पनि हो । इतिहासका पानाहरुमा जो शक्ति शाली छन् तीनका मात्र फोटो हुने गर्दथे । ती फोटोहरुलाई फूलमाला लगाइन्थ्यो । जयजयकार गरिन्थ्यो । तर समय परिवर्तन भएको छ । जो कोही पनि सजिलै आफ्नो फोटो फेसबुकमा राख्न सक्छ । आफ्नो उपस्थिती जनाउन सक्छ । विचारहरुलाई अभिव्यक्त गर्ने माध्यमा वा प्रविधि फरक भए पनि विषय उहीछ–आफ्नो पहिचान ।

2 thoughts on “सोसल मिडियामा पुराना फोटाहरुको रहस्य”

  1. Pacific Kumar मित्र प्रशान्त जी र म निगममा फरक सेवामा सँगसँगै प्रवेश गरेका हाैं । अब त सायद सात बर्ष पुग्न थालेछ। म अर्थ विभागकाे तलब शाखामा कार्यरत हुँदा वहाँ सायद ग्राउन्ड सपाेर्ट विभागमा हुनुहुन्थ्यो। हाम्राे पहिलाे भेट तलव शाखामा भएको हाे। वहाँसँगकाे त्यतिबेलाकाे भेटमा हाम्राे धेरै कुराकानी भयाे। वहाँ एक सरल, तार्किक तथा असल भावनात्मक मानिस हुनुहुन्छ। अाफ्ना भित्री भावनाहरु तार्किक ढंगले प्रस्तुत गर्न सक्ने तथा अध्ययनशील पनि। अहिले वहाँले अाफ्नाे अध्ययनकाे साथै साहित्य तथा अन्य विषयमा कलम चलाईरहनु भएकाे छ। भनिन्छ अध्ययन नै ज्ञानकाे भन्डार हाे। अाफ्नाे भित्री भावनालाई अध्ययन सँग जाेडेर कलात्मक प्रस्तुति दिनु र त्यसलाई सजीव चित्रमा उतार्न सक्नु र उत्कृष्ट पठनीय विषय बनाउन जाेकसैले सक्दैन तर मित्र प्रशान्त जाे शान्त र संयम हुनुहुन्छ वहाँमा भएको त्याे विशिष्ट कलालाई सम्मान गर्दछु। अध्ययन सहितकाे कलमवीर बन्दै अघि बढ्नुहाेस मेराे शुभकामना। मेराे व्यक्तिगत जीवनकाे सानाे एउटा पाटाेलाई विषय बनाएर अहिलेकाे विषम परिस्थितिकाे यथार्थ लाई विस्तृत तथा सजीव बनाउनु भएकोमा सादर धन्यवाद। त्याे तस्बिरलाई स्याम्पलकाे रुपमा लिएर समग्रकाे विश्लेषण गर्न सक्ने तपाईंको कलाकाे उच्च प्रशंसा गर्दछु।धन्यवाद emailkhabar.com लाई पनि # Go ahead and stay safe##

Comments are closed.