कोरोना सर्तकता कारागारमा भेटघाट बन्द

चैत ५, पोखरा – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ ।

कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भेटघाट भने हुनेछ ।

“कोरोना सङ्क्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौँ”, गौतमले भने, “पूर्वसजगताकै लागि कारागारभित्र मास्क उत्पादन गर्न शुरु गरिएको छ ।” अहिले कारागारभित्रै दैनिक १०० देखि १५० सम्म मास्क उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमास्क ३० रुपैयाँमा उपलब्ध गराइएको छ । तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उनले जानकारी दिए।

कूल २४० जनाको क्षमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।रासस