ट्राफिक नियम मिच्नेलाई पनि ’नमस्कार’

चैत ४, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान सुरु गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अब कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । उनीहरुलाई सम्झाउँछन् र ट्राफिक नियमको पालना गर्न सचेत गराउनेछन् ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मियता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार सुरूवात गरका हौँ’, महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भन्नुभयो, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाई छ ।

यसैबीच महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘गल्ती महसुस होस, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझून् भनेर यो अभियान सुरु गरेका हौँ’, महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले भन्नुभयो, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारीसाधन चलाउन मद्दत पुग्छ ।’