मास्क कालोबजारी गर्ने आठ जना पक्राउ

चैत २, काठमाडौं-मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा शनिबार दिउँसो ८ जना पक्राउ परेका छन ।
काठमाडौं महानगरपालिका १५ डल्लुबाट ७८ हजार थान माक्स सहित उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ३० वर्षीय मिन्टु तामाङ, ३५ वर्षीय मानकाजी लामा, २३ वर्षीय अनिष कार्की, २१ वर्षीय थुमराज उपाध्याय, २५ वर्षीय निर्प कार्की, २८ वर्षीय उज्वल अधिकारी, २४ वर्षीय शिव खड्का र २० वर्षीय निशान तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १५ डल्लुस्थित आवसमा मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी उक्त मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा ५ रुपैयाँ भन्दा कम पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्य कायम गरी बिक्री बितरण गर्न लागिरहेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।