सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनः निर्माण

देवराज सुवेदी

फागुन ३०, मेलम्ची-  भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् ।
भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो ।

परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर शेरबहादुर पुजाराले बताए ।

यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हँुदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिए । । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् ।

एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हँुदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ ।

त्यस्तै ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिए ।तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् ।

परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिए । परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गरे ।

रासस