कोरोनाको सन्त्रास विश्व खेलकुदमा : खेलाडीमै देखियो संक्रमण

 

फागुन, ३० काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण अहिले विश्वको खेलकुद क्षेत्र नराम्ररी प्रभावित हुन थालेको छ । जसको कारण यो वर्ष आयोजना हुने ओलम्पिक प्रतियोगिता, विश्वकप फुटबलको छनोट खेलदेखि युरोपमा आयोजना हुने दर्जनौँ फुटबल प्रतियोगिताहरू प्रभावित भएको छ ।

जापानको टोकियो सहरले यो वर्षको जुलाई २४ तारिखदेखि आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिताप्रति संशय देखा परेको छ । आयोजनाको सबै काम सम्पन्न गरिसकेको टोकियो सहरले कोरोना भाइरसको सन्त्रासले गर्दा उक्त मितिमा ओलम्पिक प्रतियोगिता आयोजना हुन्छ कि हुँदैन भन्ने द्विविदामा छ । यो विषयमा हालै जापानको संसद्मा छलफल पनि भएको थियो । जापान ओलम्पिक मन्त्री सेइको हासिमोतोले संसद्मा जानकारी दिँदै ‘आयोजनाका सबै पक्षको काम समाप्त भइसकेको कारण हामी प्रतियोगिता आयोजना गर्न तयार छौं तर कोरोना भाइरसको सन्त्रासको कारण प्रतियोगिता आयोजना गर्नुहुँदैन । पहिलानै निर्धारण भएको मितिमा फेरबदल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गर्ने हुनाले हामीले उनीहरूकै निर्देशन कुर्नु परेको छ । सकेसम्म हाम्रो चाहना भनेको अहिले निर्धारण गरेको मितिमा आयोजना गर्नुभन्दा यो वर्षको अन्तसम्ममा आयोजना गर्नु राम्रो हुने देखिन्छ ।’

ओलम्पिक प्रतियोगितामा प्रज्वलन गरिने ज्योति ग्रिसको प्राचीन ओलम्पियाबाट गरिने गरिन्छ । अर्को साता गरिने ज्योति प्रज्वलनको कार्यक्रम पनि पहिलाको जस्तो भव्य रूपमा नहुने ओलम्पिक कमिटीले जनाएको छ । विगतमा ग्रिसका विभिन्न सहरमा सात दिन घुमाएर आयोजक टोकियो सहरलाई उक्त ज्योति हस्तान्तरण गर्ने कार्यक्रम राखिएको थियो । अब यो ज्योति प्रज्वलनमा धेरै थोरै व्यक्तिहरूलाई मात्र सहभागी गरेर गर्ने भएको छ । उक्त कार्यक्रम हेर्नकै लागि धेरै पर्यटकहरू भेला हुने परम्परा थियो । अब यसमा पनि केही सिटहरूको मात्र व्यवस्था गरेर ज्योति प्रज्वलन गर्ने ग्रिक ओलम्पिक कमिटीले जनाएको छ ।

अहिले युरोपमा फुटबलका विभिन्न प्रतियोगिताहरू आयोजना हुने सिजन चलिरहेको छ । कोरोना भाइरसको संक्रमण युरोपमा अत्याधिक बढिरहेको कारण युरोपमा आयोजना भइरहेको युरोपा लिगका खेलहरू रंगशालामा दर्शकविहीन बनाएर आयोजना गर्न थालिएको छ । युरोपा लिगको अन्तिम १६ को खेल विभिन्न युरोपियन राष्ट्रमा आयोजना भइरहेको छ । अस्ट्रियामा आयोजना हुने खेलमा अस्ट्रियन सरकारले रंगशालामा फुटबल समर्थहरूलाई प्रवेशमा रोक लगाएको छ ।

यही लिगअन्तर्गत ग्रिसमा हुने खेलमा पनि समर्थकलाई रंगशाला प्रवेशमा रोक लगाइएको छ । कतिपय खेलका टिकटहरू बिक्रीसमेत भइसकेको अवस्थामा अब समर्थकहरूले टेलिभिजन हेरेर फुटबलको मज्जा उठाउनु पर्ने अवस्था आएको छ । यो बाहेक युरोपेली फुटबल महासंघले प्रतियोगिता अगाडि खेलाडीहरूले एक अर्कासँग हात मिलाउने परम्परालाई रोक्नसमेत आग्रह गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा दर्शकविहीन भएर नेपोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसैगरी फ्रान्समा हुने पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोरुसिया डर्टमन्डबीचको खेल पनि बन्द रंगशालामा खेलाइनेछ । स्पेनको सेभिया र इटालीको रोमाबीचको खेल पनि बन्द रंगशालामा आयोजना हुनेछ । ला लिगाअन्तर्गत हुने फुटबल खेलमा पनि दर्शकहरू रंगशाला प्रवेश गर्न नपाउने भएका छन् । फ्रेन्च लिगका खेलहरू पनि रंगशालामा दर्शकविहीन गरेर खेलाइनेछ । फ्रान्स सरकारले कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेपछि कुनै पनि स्थानमा १ हजारभन्दा बढी व्यक्तिहरू भेला नहुन सूचना जारी गरेको छ । पछिल्लो पटक फ्रान्समा ११ सयभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

इटालीको ओलम्पिक कमिटीले आफ्नो देशका खेलाडीहरूले सहभागिता गर्ने सबै किसिमका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने निर्णय गर्ने जनाएको छ । यो विषयमा आन्तरिक रूपमा आयोजना भइरहेका फुटबल प्रतियोगितासमेत पर्ने देखिन्छ । यसैबीच इटालीको पौडी संघले ओलम्पिकलाई लक्षित गरेर आयोजना हुन गइरहेको ओलम्पिक छनोटमा सहभागी नहुने जनाएको छ । युरोपियन राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण इटालीमा अत्याधिक बढिरहेको छ । पछिल्लो जानकारीअनुसार इटालीमा कोरोना भाइरसका कारण ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

अहिले विश्वकप फुटबलका लागि एसियाको छनोट चरणका खेलहरू हुने पूर्वनिर्धारित रहेका खेलहरू पनि स्थगित हुने सम्भावना देखिएको छ । फिफा र एसियाली फुटबल महासंघले यो विषयमा कुनै निर्णय नगरे पनि आयोजक देशको सहमति र कोरोनाको अवस्थाअनुसार निर्णय गर्ने जनाएको छ । पछिल्लो खेल तालिकाअनुसार नेपालले पनि छनोट खेलमा सहभागी हुने कार्यक्रम छ ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको बार्सिलोना म्याराथन पनि कोरोना भाइरसको संक्रमणकै कारण स्थगित भएको छ । मार्च १५ तारिखमा आयोजना हुने उक्त म्याराथनलाई अक्टोबर २५ तारिखसम्मलाई स्थगित गरिएको छ । स्पेनको स्वास्थ मन्त्रालयले कोरोना भाइरसको कारण अहिले स्पेनमा ४ सय ४१ जना बिमारी भएका छन् भने ८ जनाको मृत्युसमेत भइसकेको छ । म्याड्रिडमा मात्र १ सय ७० जना बिमारी भएका छन् ।

६ राष्ट्र सम्मिलित महिला रग्बी प्रतियोगिताको आयोजना पनि कोरोना भाइरसको संक्रमणको घेरामा परेको छ । ग्लासगोमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा स्कटल्यान्ड र फ्रान्सबीच खेल हुन लागेको थियो । आयोजक स्कटिस खेलाडीहरूमै कोरोना भाइरसको संक्रमण देखिएपछि खेलनै नहुने देखिएको छ । स्कटिस टिमका ७ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले उनीहरूलाई आइसोलेसन वार्डमा राखिएको छ । यही प्रतियोगिताअन्तर्गत गत साता स्कटल्यान्ड र इटालीका खेलाडीहरूबीच प्रतियोगिताको कार्यक्रम रहेको थियो । इटालीयन टिमका खेलाडीहरूमा पनि भाइरसको संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो । स्कटल्यान्डका खेलाडीहरू खेल स्थगन भएपछि आफ्नो देशमा फ्रान्सविरुद्ध खेल्न आएका थिए ।

जापानको लोकप्रिय सुमो खेल पनि कोरोना भाइरसको संक्रमणको त्रासले दर्शकविहीन अवस्थामा सञ्चालन भइरहेको छ । सुमोको बसन्त ऋतुमा आयोजना हुने वार्षिक प्रतियोगिता स्थगन गर्न नमिल्ने जनाउँदै आयोजकले दर्शकलाई प्रवेश निषेध गरेर सञ्चालन गरिएको हो । उक्त प्रतियोगितालाई राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेर दर्शकलाई घरमै बसेर हेर्न भनेको थियो । जापानमा पछिल्लो पटक फैलिएको कोरोना भाइरस ४ सय ५४ जनामा देखिएको छ भने यो संक्रमणको कारण ७ जनाको ज्यानसमेत गइसकेको छ ।