टोखा नगरपालिका साक्षर घोषणा

फागुन २८, काठमाडौं काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ ।

नगरपालिकाले आज आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लृख गरेका छन् ।
नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताए । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको उनको भनाई थियो ।

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिए ।
नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताए । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८.५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उनको भनाइ थियो ।

विसं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।