कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने सरकारको निर्णय

फागुन १८, काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्माओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अप्नाउने निर्णय गरेको जनाइएको छ ।

बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने जनाइएको छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो ।
सोही रोगको आशंकामा दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको आएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण पछिल्लो समय जापान, इटली, इरान र दक्षिण कोरियामा समेत फैलिएको छ । युरोप र मध्यपूर्वका थुप्रै मुलुकमा यसको संक्रमण फैलिँदै गएको छ ।