सामाजिक सञ्जाल र दाम्पत्य

फागुन, १४ काठमाडौं – ‘आजन्म नछुट्ने’ वाचा गर्दै बाँधिएको दाम्पत्य सम्बन्ध किन धमाधम टुट्दैछ ? यसमा एउटा मात्र कारण छैन । दम्पतीबीचको तालमेल नमिल्नुमा विवाहेत्तर सम्बन्धदेखि वैदेशिक रोजगारसम्म कारक बन्दै आएको छ । यसमा थपिएको छ, सामाजिक सञ्जाल पनि । दम्पतीको सम्बन्धलाई धराप बनाउन सामाजिक सञ्जाल उत्तिकै निहुँ बन्ने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

सामाजिक सञ्जालले अहिले दम्पतीबीचको भावनात्मक सम्बन्ध संकटमा परेको बताउँछन्–मनोपरामर्शदाता मधुविलास खनाल । उनी भन्छन्–‘नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।’

सम्बन्धविच्छेदको घटनालाई केलाउने हो भने सामाजिक सञ्जाल ‘बाँदरलाई भर्‍याङ’ भएको छ । सामाजिक सञ्जालको निहुँमा बढ्दो उजुरीले पनि यसलाई थप पुष्टि गर्छ । महानगरीय अपराध महाशाखा काठमाडौंमा फेसबुकलगायत सामाजिक सञ्जालको विषयलाई लिएर उजुरीको थुप्रो लाग्ने गरेको महाशाखा प्रमुख एसएसपी सुशील सिंह राठौरको भनाइ छ ।

यता अदालतमा पनि सम्बन्धविच्छेदका घटना उत्तिकै मात्रामा दर्ता हुने गरेका छन् । काठमाडौं जिल्ला अदालतमा मात्र दिनहुँ औसत २५ वटासम्म सम्बन्धविच्छेदका घटना दर्ता हुने गरेको कानुन व्यवसायी कमल सापकोटा बताउँछन् । उनी भन्छन्–‘यसरी सम्बन्धविच्छेद बढ्नुमा सामाजिक सञ्जाल पनि मुख्य कारण हो ।’

दम्पतीको शयन कक्षासम्म फेसबुक 
अहिले धेरै दम्पती कामकाजी छन् । कोही काम गर्छन्, कोही जागिर खान्छन् भने कोही व्यापार गर्छन् । त्यसैले अन्तरंग पल साट्ने समय छोटिँदै गएको छ । त्यसमाथि उनीहरूसँग थोरै समय बच्छ, जुन साँझ काम सकेर घर फर्किएपछिको समय, खाना खान बस्दाको समय, राति शयनकक्षमा बिताउने समय । यद्यपि यो समय पनि सोसल मिडियाले खोसिदिएको छ ।

मोबाइल शयनकक्षसम्म पुगेको छ । श्रीमान्–श्रीमती दुवैको हातमा मोबाइल हुन्छ । उनीहरू या त फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, युट्युबमा अलमलिइरहेका हुन्छन् । कतिसम्म भने शयनकक्षमा समेत उनीहरू फेसबुक र ट्वीटरको दुनियाँमा रमाइरहेका हुन्छन् । दाम्पत्य सम्बन्धलाई दिगो, विश्वसनीय, मधुर, कसिलो र रसिलो बनाउन आपसी संवाद र सम्बन्धको खाँचो हुन्छ । तर सामाजिक सञ्जालले उनीहरूबीचको संवादको वातावरण नै बिथोलिदिएको छ । घर–व्यवहार चलाउन, घरको आर्थिक स्थितिदेखि बालबच्चाको पढाइ, आर्थिक लेनदेका लागि दम्पतीबीच अन्तरसंवाद भैरहनुपर्छ । अहिले उनीहरूबीच अन्तरसंवाद हुँदैन । श्रीमान्–श्रीमतीबीच मोबाइलले दूरी बढाएको छ । यसको नकारात्मक प्रभाव श्रीमान्–श्रीमतीको सम्बन्धमा परेको छ ।

भ्रम र अविश्वासको निहुँ 
सामाजिक सञ्जालको अर्को भयानक पक्ष के पनि छ भने उनीहरूमा कलहको बीउ रोपिएको छ । अविश्वास र आशंकालाई ठाउँ दिएको छ । चाहे त्यो उनीहरूले राख्ने स्टाटस, फोटो आदिको कारण होस् वा उनीहरूसँग जोडिने साथी र उनीहरूसँग गरिने च्याटले पनि उनीहरूबीच झगडाको बीउ बन्ने गरेको छ । त्यति मात्र होइन पासवर्डको कुरा लिएर समेत श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेको पाइन्छ ।