मर्निङ वाक गर्नेले बुझिराखौँ यि कुरा

फागुन, १४ काठमाडौं । मानवको विकासक्रम हिँडाइसँग जोडिन्छ । खानाको खोजीमा दिनहुँ ४० देखि ५० किलोमिटरसम्म हिँड्दै मानिसको विकास भएको छ । मरुभूमिमा घोडाभन्दा बढी मानिस हिँड्न सक्छ । मानिसको पसिनाले शरीरलाई सन्तुलित गर्छ र नियमित हिँड्न सक्छ । यसरी हिँड्नका लागि बनेको मानव शरीरले हिँड्न छोड्दा अनेक रोग लाग्छ ।

मर्निङ वाकले मानवको त्यही हिँडाइको आवश्यकता पूरा गर्छ । नियमित मर्निङ वाक गर्दा शरीरमा विभिन्न रसायन उत्पन्न हुन्छन्, जसले एन्जाइटी/डिप्रेसनबाट बचाउँछ, शरीरमा स्फूर्ति ल्याउँछ । शरीरबाट इन्डोर्फिन भन्ने रसायन रिलिज हुँदा ताजापन र उत्साह पैदा गर्छ । हड्डी, मांसपेशी, पाचन प्रणाली, मुटु, रक्तसञ्चार प्रणाली, स्नायु प्रणालीदेखि मानसिक अवस्थालाई समेत स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । आधुनिक विकासले मानिसलाई कम हिँडाइरहेको छ । यसले दिनानुदिन मानिसमा रोग बढिरहेको छ । त्यसैले हिँडाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

कुन बेला हिँड्ने ?
जुन बेला फुर्सद मिल्छ, त्यही बेला हिँड्नुपर्छ । बिहान, बेलुका वा दिउँसो, जुन बेला हिँडे पनि केही फरक पर्दर्ैन । यसमा समय वा तापक्रमले केही फरक पार्दैन । दिउँसो अन्य काममा व्यस्त हुँदा हिँड्न नभ्याइन सक्छ, त्यसैले बिहानको समय छुट्याउँदा उत्तम हुन्छ । साथै, प्रेसर, मुटुरोग, मोटोपना र रक्तसञ्चारमा गडबडी भएका मान्छेहरूलाई खाना खाएपछि हिँड्न गाह्रो हुन्छ । त्यसैले त्यस्ता मान्छेहरूले बिहान खाली पेटमा अलिकति पानी खाएर हिँड्नु राम्रो मानिन्छ । स्वस्थ मान्छे भने खाना खाएर पनि हिँड्न सक्छन् ।

चिसोमा मर्निङ वाक
चिसो महिनामा प्रदूषण एटमस्फेरिक लेयरमा बस्छ । त्यहाँभन्दा माथि जान पाउँदैन । त्यसले हाम्रो श्वासप्रश्वासमा असर पर्ने कुरा सही हो । त्यसैले चिसो मौसममा घाम उदाएपछि हिँड्दा प्रदूषण कम भइसकेको हुन्छ र चिसोको जोखिम पनि रहँदैन । अर्को कुरा, भित्री सडकहरूमा हिँड्ने हो भने प्रदूषणले कम असर गर्छ ।

कति हिँड्ने ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूले कम्तीमा दैनिक ३० मिनेट र हप्तामा ५ दिन हिँड्नुपर्छ । त्यस्तै हप्तामा २ दिन मसल्सको एक्सरसाइज गर्नुपर्छ । यो कम्तीमा हो । हामीचाहिँ दैनिक एक घण्टा हिँड्नुपर्छ र बच्चाहरूले एक घण्टाभन्दा बढी हिँड्नुपर्छ भन्छौं । वृद्धवृद्धाहरूले त दैनिक २ घण्टा हिँड्न जरुरी छ । उनीहरूको गति कम हुन्छ, त्यसैले बढी हिँड्नुपर्छ ।

सबैले औसतमा एक घण्टा हिँड्न जरुरी छ । स्वस्थ मान्छेलाई रोग लाग्न नदिनका लागि, रोगी मान्छेलाई रोगलाई नियन्त्रण गर्नका लागि दिनमा एक घण्टा हिँड्नु राम्रो हो । सकिँदैन भने कम्तीमा आधा घण्टा भए पनि फटाफट हिँड्नुपर्छ । ब्लडप्रेसर, सुगर वा कोलेस्ट्रोल छ भने त एक घण्टा हिँड्नैपर्छ । ३० मिनेटमा ३ किलोमिटर हिँड्नु राम्रो मानिन्छ । नसक्नेले बिस्तारै हिँड्नु पनि राम्रो हो, तर जसले हिँड्न सक्छ, उसले सकेसम्म छिटो हिँड्ने कोसिस गर्नुपर्छ ।

हिँड्दा अपनाउनुपर्ने सावधानी
हिँडिरहेको समयमा हड्डीको समस्या, रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता समस्या आइरहेको छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । तर हिँड्न भने रोक्नु हुँदैन । यस्तै, नियमित हिँड्ने मानिसले शरीरमा पानीको कमी हुन दिनु हुँदैन । कुनै रोगको औषधि खाइरहेको छ भने कति हिँड्न जरुरी छ भनेर डाक्टरसँग सल्लाह लिनुपर्छ ।

काठमाडौंको सवालमा बिहान हिँड्दा केही सावधानी भने अपनाउनैपर्छ । अँध्यारोमै मर्निङ वाकका लागि निस्कँदा कुकुरले टोक्ने, गाडीले किच्ने, सर्पले टोक्ने र लड्नेजस्ता खतरा हुन्छन् । यी कुरामा होस पुर्‍याएर हिँड्नुपर्छ ।