छाडा गाईले अन्नबाली खाएपछि गौशाला निर्माण

फागुन १०, रामपुर  – छाडिएका गाईको संरक्षण गर्न यहाँ निर्माण गरिएको गौशाला सञ्चालनमा आएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा रहेको सो गौशालामा करिब ६० गाई राखिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले शुक्रबार शुभारम्भ गर्दै गाईलाई माताका रुपमा पूजाआजा गरिने भएकाले संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको जानकारी दिए ।

नगरपालिकाले दुई आर्थिकक वर्षमा रु ४० लाख विनियोजन गरेको थियो । गौशाला सम्पन्न नहँुदासम्म गत साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर संरक्षण गरिँदै आइएको थियो । छाडा गाईले कृषकका खेतबारीका अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण शुरु गरिएको थियो ।

करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम अहिले भएको छ । गौशालामा छाडा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषक अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गङ्गा बस्यालले बताए ।
रासस