वुहानबाट फर्कने विद्यार्थी राख्ने क्वारेन्टाइन निर्माण पुरा –संक्रमण फैलन नदिन उच्च सतर्कता

फागुन १, काठमाडौं – सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताए ।

प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ ।