कोरोना भाइरसबाट ५६२ को मृत्यु, २८ हजार बढी संक्रमित

माघ २३, बेइजिङ । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमणबाट ५६२ जनाको मृत्यु भएको छ । त्यसैगरी चीनसहित विश्वभरका विभिन्न मुलुकमा गरी २८ हजारभन्दा बढी कोरोना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिर फिलिपिन्स र हङकङमा एक(एकजनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाविरुद्धको उपचारका लागि छुट्टै खोप बनिसकेको छैन । तर, थाइल्यान्डका चिकित्सकहरुले एन्टि(ड्रगको प्रयोगबाट उपचार गरिरहेको र संक्रमित निको भएको दाबी गरेको सीएननएले जनाएको छ ।
हङकङ र जापानका दुईवटा क्रुज जहाजबाट ५३ सय यात्रुलाई क्वारेन्टाइन लगिएको छ ।

जापानको योकोहामा बन्दरगाहमा १४ दिनका लागि क्वारेन्टाइन गरिएको डाइमन्ड प्रिन्सेस जहाजमा सवार एक हजार ४५ चालक दलका सदस्य र २६ सय ६६ यात्रुमा कोरोना परीक्षण भइरहेको छ ।
उक्त जहाजमा ४२८ अमेरिकनसमेत रहेको बताइएको छ । जसमध्ये अहिलेसम्म २० जनामा कोरोनाको संक्रमण भएको पाइएकव छ । अहिले जापानमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

जहाजमा कोरोना परीक्षणका क्रममा संक्रमण भेटिएकाहरुलाई उपचारका लागि लगिएको छ भने अन्यलाई १४ दिनसम्म क्वारेन्टाइनका लागि राखिने छ । पहिलोपटक हङकङबाट गएका ८० वर्षीय एक वृद्धलाई कोरोना भएको पाइएपछि अन्यमा पनि कोरोना परीक्षण सुरु गरिएको थियो । ती वृद्ध जनवरी १० मा चीनमा थिए भने जनवरी १७ मा जापानका लागि गएका थिए ।

यो भाइरसको संक्रमण चीनमा महामारीको रुपमा फैलिएपछि विभिन्न मुलुकले वुहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेर फिर्ता लगेका छन् ।

त्यसैगरी अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकहरुले चीनका पर्यटकहरुलाई अस्थाईरुपमा प्रतिबन्ध लगाएका छन् । उनीहरुले १४ दिनेदेखि वुहानमा रहेका कुनै पनि विदेशीलाई समेत आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन् । – सीएनएन