सर्भे भएको १३ महिना सम्म पनि बनेन पुल

माघ २१, रारा – सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन ।

सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ ।

पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए ।

एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उहाँले जानकारी दिएका छन् ।

रासस