मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान

माघ १६, काठमाडौं – चन्द्रागिरी नगरपालिकाले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार नगरपालिकामा बसेको ‘समुदाय–प्रहरीपालिका समिति’को बैठकले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले अवैध घरेलु मदिराको व्यावसायिक उत्पादन बिक्री वितरण तथा ओसारपसार तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकविरुद्ध कारवाही गर्ने निर्णय गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नगरपालिकाको शान्ति सुरक्षाका लागि नगरपालिकाले नै नेतृत्व लिएर राम्रो कामको थालनी गरेको बताए ।

बैठकले लागुऔषध सेवनविरुद्ध विशेष स्विप अप्रेशन सञ्चालन गर्ने, लागुऔषध कारोवारी तथा ओसारपसारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्ने र लागुऔषध प्रयोगकर्ता र प्रयोगकर्ताको अभिभावकलाई नियमित रूपमा मनोसामाजिक विमर्श कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले लागुऔषध सेवन गरी सवारीसाधन चलाउने जोसुकै चालकलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कारवाही गरिने जानकारी दिए ।