प्रहरी सामु आस्थाले गरिन आत्मसर्मपण

माघ १३, काठमाडौं – पछिल्ला केहि साता चर्चा र विवादको शिखरमा रहेकी गायिका आस्था राउत प्रहरी परिसरमा पुगेकी छिन् । सोमबाम विहान उनी प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।

आस्था र प्रहरीबीच अघिल्लो साता त्रिभुवन विमानस्थलमा भएको विवादपछि उनको विवाद र चर्चा दुबै सुरु भएको हो । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । सीसीटीभी फुटेजलाई आधार मान्दा गायिका राउतकै गल्ती देखिएको प्रहरीको भनाई छ । विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।