सापकोटालाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपतिका् सल्लाहाकार प्याकुरेलले दिए राजिनामा

माघ १०, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

द्वन्द्वकालीन मुद्दा खेपिरहेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएर उनले शुक्रबार राष्ट्रपति समक्ष राजीनमा दिएका हुन्।

कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि सक्रिय हुन आफूले राजीनामा दिएको प्याकुरेलले बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबुत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु,’ राजीनामा पछि जारी विज्ञप्तिमा भनिएको छ।

उनले मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा अन्तर्रा्ष्ट्रिय जगतमा नेपालको छवि बनाउन आवश्यक रहेको बताएका छन्।

‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्रा्ष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ,’ प्याकुरेलले विज्ञप्तिमा भनेका छन्, ‘यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ। साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागबण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।’

मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेल ९ चैत २०७४ मा राष्ट्रपतिका राजनीतिक सल्लाहाकार नियुक्त भएका थिए।

उनले काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेका सांसद सापकोटामाथि अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।