अमेरिका गएकी उपप्रमुख उतै गायब, ३ महिनादेखि सम्पर्कबिहिन

माघ १० काठमाडौं – अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेकी उनले अमेरिका पुगेपछि पार्टीसँग पनि सम्पर्क नगरेको नेकपाले जनाएको छ ।
इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आईसीएमए) को निमन्त्रणामा नगरपालिका संघकी सदस्य नेपालीसहित तीन जना अमेरिका गएका थिए । एउटै कार्यक्रममा निमन्त्रणा पाएका नेपाली, धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा छुट्टाछुट्टै विमानमा अमेरिका पुगेका थिए ।

‘अमेरिकाको होटेलमा पुगेपछि मात्रै उहाँ (नेपाली) सँग भेट भयो,’ नीलकण्ठका प्रमुख ढुंगानाले भने, ‘हामी दुई जना मल्टिपल भिजाबाट गएका हौँ । उहाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकृतिबाट जानुभएको थियो ।’ कार्यक्रम सकिएपछि छुट्टिएको र आफू २४ दिनपछि फर्किएको उनले बताए । ‘म्यासेन्जरमा कुरा हुँदा उहाँ भिजाको म्याद थपेर बसेको सुनाउनुहुन्थ्यो,’ ढुंगानाले भने, ‘आफ्नो नसामा समस्या देखिएको भन्दै रुनुहुन्थ्यो । दूतावासमा कुराकानी गरेर फर्किने व्यवस्था मिलाउँछु भन्दा मान्नु भएन ।’ ढुंगानाले नेपालीसँग पछिल्लो समय कुराकानी नभएको बताए ।

तिलागुफाका प्रमुख रतनबहादुर शाहीले कहिले फर्किने भनेर सोध्दा बिरामी रहेको जवाफ आएको बताए । ‘केही दिन आराम गरेर आउने भन्नुभएको थियो तर तीन महिना बितिसक्दा पनि आउनुभएन ।’ आफ्नाबारे समाचार आउन थालेपछि नेपालीले आफ्नो फेसबुक एकाउन्ट निष्क्रिय पारेकी छिन् ।

बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा नदेखिएपछि नेपाली सम्पर्क्विहीन भएको खबर फैलिएको हो । विद्यार्थी राजनीतिमा सक्रिय उनलाई तत्कालीन माओवादीले २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा उठाएको थियो ।
कान्तिपुरबाट