डडेल्धुरामा भत्काइयो २३ छाउगोठ

माघ ९, काठमाडौं – दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।