उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीको रोकियो बैंक खाता

माघ ८, काठमाडौं – सरकारले किसानको बक्यौता नतिर्ने चिनी उद्योगीको बैंक खाता रोक्का गरेको छ ।

किसानको बक्यौता राख्ने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी उद्योगीको बैंक खाता रोक्का राख्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

उनीहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाउन लागिएको उल्लेख गरिएको छ ।

उद्योग मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यसैगरी लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।

गत महिना उखु किसानले काठमाडौं आएरै आन्दोलन गरेपछि सरकारी रोहबरमा उद्योगीले मंगलबारभित्रमा पैसा तिर्ने सम्झौता गरेका थिए।

तर सम्झौताअनुसार किसानलाई पैसा भुक्तानी नभएपछि सरकारले उद्योगीमाथि नयाँ कारबाही सुरु गरेको हो।