आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

माघ ५, काठमाडौं -काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताएका छन् ।

उनीविरुद्ध आरोप पुष्टि भए प्रमुख जिल्ला अधिकारीले १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।

महानगरीय प्रहरी परिसरका अधिकारी राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आइतबार दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए ।

आस्था हाल सिक्किममा रहेको जनाइएको छ । गत बुधबार त्रिभुवन विमानस्थलहुँदै भद्रपुर जाने क्रममा आस्थाको सुरक्षा चेकजाँच गर्ने महिला प्रहरीसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेपछि विवाद बाहिर आएको हो । विमानस्थल सुरक्षा जाँचको भिडियो समेत सार्वजनिक भएको छ ।