८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

माघ ३, काठमाडौं — विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए ।

विभागका कर्मचारी उनको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुगेका थिए ।

नेपाल वायुसेवा निगममा क्याप्टेनका रुपमा काम गर्न नेपाल आएका भारतीय नागरिक कञ्जवालजित सिंह चिमा पनि विभागमा उपस्थित भएर नेपालमा काम गर्न अनुमति लिँदै थिए ।

यस्तै माथिल्लो त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको २२० केभी प्रशारणलाइन परियोजनामा ‘एकाउन्टेन्ट’का रुपमा काम गर्र्दै आएका चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका कर्मचारी चिनियाँ नागरिक वेइ लिन श्रम इजाजात नवीकरण गर्न बिभाग पुगे । बिहीबारमात्रै विभागबाट ११ विदेशी नागरिकले श्रम इजाजत लिएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारीका लागि नेपालमा आएका विदेशी श्रमिकलाई श्रम इजाजत प्रदान गर्दै आएको छ । विभागले साताको दुई दिन सोमबार र बिहीबार श्रम स्वीकृति दिने गरिरहेको छ ।

श्रम विभागले आर्थिक वर्ष २०६९र७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९र०७० मा ९८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको थियो । यस्तै आव २०७०र०७१ मा ७१९, आव २०७१र०७२ मा २ हजार १९, आव २०७२र०७३ मा १ हजार ४७२ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरिएको विभागले जनाएको छ ।

यसैगरी आव २०७३र०७४ मा १ हजार ३२४ नयाँ श्रम इजाजत जारी गरेको विभागले सोही आवमा ६४८ श्रम इजाजत नवीकरण गरेको थियो । आव २०७४र०७५ मा १ हजार ६०८ नयाँ श्रम इजाजत र ९६२ नवीकरण तथा आव २०७५र०७६ मा एक हजार ११९ नयाँ श्रम इजाजत र ८६२ श्रम इजाजत नवीकरण गरेको थियो ।

चालु आवको पाँच महिनाको अवधिमा विभागले ५४० विदेशी नागरिकलाई नयाँ श्रम इजाजत प्रदान गरेको छ भने सोही अवधिमा ५३७ श्रम इजाजत नवीकरण गरेको छ । श्रम इजाजत लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा ठूलो सङ्ख्यामा चिनियाँ नागरिकले काम गर्दै आएका छन् । “टेलिकम्युनिकेशन, हवाई सेवालगायत सेवा क्षेत्रमा इजाजत लिने विदेशी कामदारको सङ्ख्या निकै ठूलो छ”, विभागमा महानिर्देशक सनत केसीले बताए ।

त्यस्तै नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या पनि निकै ठूलो छ । यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तापनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले श्रम इजाजत लिएका छन् । श्रम इजाजत लिनेमा नेपाललाई आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएका मुलुकका नागरिकको सङ्ख्या उल्लेख छ । केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले पनि श्रम इजाजत लिएका विभागले जनाएको छ ।

अस्ट्रेलिया, बङ्गलादेश, भूटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत, अमेरिकालगायत ८७ मुलुकका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
रासस