देशभर मौसम बदली, आज पनि वर्षा र हिमपात हुने

माघ ३, काठमाडौं –पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार (आज) दिनभर देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएकोछ । यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नै काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ।

महाखाशाका अनुसार शनिबार दिउँसो देशभर आंशिककदेखि सामान्य बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आइतबार दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली भई पहाडी भू(भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।