एकै वडामा भत्काइए २८ छाउगोठ

पुस २९, डोटी – छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो ।

एक हप्तामा जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने अभियान चलेको छ भने प्रहरीले गोठ भए नभएको अनुगमन गरिरहेको छ ।

मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ ।

गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ । प्रहरी उपरीक्षक देउवाले भने, “प्रहरीले गोठ खोजीरहेको छ र देख्ने बित्तिकै भत्काउन भनिएको छ, कतिपय ठाउँमा स्थानीयले भत्काउन थालेका छन् ।”

अभियनामा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता छ । जिल्लाका त्यस्ता गोठ भत्काउने अभियान सफल पार्न स्थानीय निकायसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

जिल्ला प्रशासनले हालै गरेको छाउपडी प्रथा उन्मूलन संयन्त्र बैठकमा सहभागी जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचार गरेको छ । जिल्लामा कम्तीमा १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान छ ।
रासस