ट्र्याक्टरमै जन्मियो बच्चा

पुस ५, काठमाडौं – कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् ।

सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उहाँले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन् ।

आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उहाँले ट्र्याक्टरमा नै छोरा जन्माएको हो । विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन् ।

गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो ।

चन्द्रौटा होटल अगाडि बीच शहरमा उर्मिलालाई ब्यथाले च्यापेपछि बच्चा जन्मिएको हो । बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताइन् ।

यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन । यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

रासस