हिउँ परेपछि हुम्लाको हवाई उडान ठप्प

मंसिर २९, काठमाडौं – लगातार हिँउ परेपछि सिमकोट विमानस्थलको अवरुद्ध भएको छ । बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा हुम्लाबाट अन्तर जिल्ला पुग्ने एकमात्रै हवाई यातायात तीन दिनदेखि अवरुद्ध भएको हो ।

सिमकोट विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन यहाँको स्थानीय सरकार, एयरलाइन्सका कर्मचारी मौन बसेका छन् ।

सिमकोट विमानस्थलबाट राजस्व उठाउने सिमकोट गाउँपालिकाले पनि अहिले हवाई यातायात बन्द हुँदा कुनै चासो नदिएको पाइएको छ ।
केही दिन यतादेखि सीता, समिट, ताराले दिनमा दर्जनभन्दा बढी उडान गर्दै आएको भएपनि एयरलाइन्स कर्मचारी पनि हिउँले हवाई उडान अवरुद्ध हुँदा मुकदर्शक भएर बसिरहेका छन् ।

सिमकोट विमानस्थलको हिउँ पन्छाउने गाडी बिग्रदा विमानस्थलमै थन्किएको छ ।