राष्ट्रियसभाको चुनाव माघ ९ गते हुने

मंसिर २६, काठमाडौं – राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय गरेको जानकारी गराएका हुन्।

५९ जना सदस्य रहेको राष्ट्रियसभामा १९ सदस्यको फागुन २० गतेदेखि पदावधि सकिँदैछ। कानुनी व्यवस्था अनुसार पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचनको तयारी गरिसक्नुपर्ने हुन्छ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन्।
राष्ट्रियसभा सदस्यका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।