मंसिर २६, काठमाडौं –डेढ महिनादेखि खाली प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सहज बनाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने भएकी छन् ।
‘बिनाकारण’ राजीनामा नदिने अडान कस्दै आएकी उनले आखिर संसद् चल्नुअघि नै राजीनामा दिने भएकी हुन् । उनले पुस ३ गतेभित्र राजीनामा दिइ सक्ने बताइएको छ ।
यौन दुर्व्यवहारको आरोपमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए। महराको राजीनापछि डेढ महिनादेखि रिक्त सभामुख चयन पुस ४ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा अनिवार्य रूपमा गर्नैपर्छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई बोलाई उपसभामुखबाट राजीनामा दिएर बाटो खुल्ला गरी मन्त्री पद स्वीकार्न आग्रह गरेका थिए। तर, उपसभामुख तुम्बाहाङ्फेले उक्त आग्रह स्वीकार गरेकी थिइनन् ।
