प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

मंसिर १२, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा हिजो साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रिया पश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

यस अघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको भनि उल्लेख छ ।