मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आयोगको आग्रह

मंसिर १२, काठमाडौं – निर्वाचन आयोगले मौन अवघिमा चुनावी प्रचारप्रसार नगर्न राजनीतिक दल, विभिन्न उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार रातिदेखि शुरू भएको मौन अवधिको स्मरण गराउँदै आयोगले निर्वाचन सम्पन्न नहुञ्जेलसम्म यस्तो प्रचारप्रसार नगर्न आग्रह गरेको हो।

मतदान हुने ४८ घन्टा अघिदेखि शुरू हुने मौन अवधिलाई संवेदनशील अवधिका रूपमा लिने गरिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोजित पत्रकार भेटमा यस अवधिमा वेभसाइड, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको बताए ।