उपनिर्वाचन – ५२ प्रकारका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

मंसिर ९, काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मंसिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र्पुयाइसकेको जनाएको छ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ। प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारमा जुटेसँगै अहिले ३७ जिल्लाका ५२ स्थानको वातावरण निर्वाचनमय भएको छ।