पोखराको विकास र समृद्धिको खाका तयार छ – विद्या भट्टराई

मंसिर ६, काठमाडौं – कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छन् ।

पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजित चुनावी घरदैलो कार्यक्रममा अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने उद्घोष गरिन् ।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जसोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै शुभारम्भ भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो ।

यसैबीच निर्वाचन क्षेत्रका ११ वटै वडामा आज नेकपाले पदयात्रा निकाल्दैछ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका वडामा पदयात्रा निकालिन लागेको हो ।

पोखरा–८ मा पनि बिहानै महिलाले भट्टराईका पक्षमा पदयात्रा निकालेका छन् । सिर्जनाचोकबाट शुरु भएको पदयात्रा जाल्पारोड, बगालेटाल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर नेत्री भट्टराईलाई जिताउनुपर्नेमा जोड दिए ।