म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन

मंसिर ६, काठमाडौं – म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् ।

म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव छैनन् । २९ वटा वडा सचिवविहीन भएका छन् । सात वडा रहेको धवलागिरि गाउँपालिका र पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा एक÷एकजना सचिव छन् । सातवटा वडा भएको मालिका गाउँपालिकामा एकजना पनि सचिव छैनन् ।

आठ÷आठवटा वडा भएको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा दुई÷दुईजना सचिव छन् । मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले सचिव नभएपछि प्राविधिक सहायक र स्वास्थ्यचौकीका अनमीलाई वडा पञ्जाधिकारीको समेत जिम्मेवारी दिएको बताएका छन् ।

कर्मचारी समायोजनपछि वडा कार्यालय र गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी घरपायक ठाउँमा सरुवा भएर गए । “भएका कर्मचारी सरुवा भएर गए, आउनेले यहाँ रोजेनन्” मालिकाका उपाध्यक्ष खरमाया बिटालुले भने जनताको काम रोक्न त भएन भनेर सहयोगीले सघाउने र स्वास्थ्यकर्मीबाट काम चलाउने विधि अपनाउने बाध्यता आएको हो ।”

वडा सचिव नहुँदा भनेको समयमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति गर्न नपाएको गुनासो छ । कतिपय वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले कर्मचारीको समेत काम गरेर जनताको अप्ठ्यारो फुकाउने गरेका छन् ।

शैक्षिक योग्यता कम भएका जनप्रतिनिधि भएका वडामा झनै समस्या छ । सिमित कर्मचारीहरुलाई धेरै वडाको जिम्मेवारी दिँदा भार परेको धवलागिरि गाउँपालिकाको तीनवटा वडाको सचिवको जिम्मेवारी पाउनुभएका बेदनाथ सुवेदीले बताएका छन् ।