लेखापाल नहुदा काम ठप्प

मंसिर ५, काठमाडौं – म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोवार ठप्प भएको छ । दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापालविहीन छन् । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।

शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताएका छन् । उनले भने “लेखापाल पठाउन अनुरोध गर्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रशासन हुँदै सङ्घीय सरकारका मन्त्रालयसम्म पुग्याँै तर कोही आएनन्”, अध्यक्ष पुनले भन्नुभयो, “कार्यालय सञ्चालनका लागि महत्वपूर्ण लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक करोवार ठप्प भएको छ ।”

बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन हुनसकेको छैन । मालिका गाउँपालिकामा सात वडा छन् । सातवटै वडा कार्यालय पनि सचिवविहीन भएका छन् । सचिवको विकल्पमा स्वास्थ्य संस्थाका अनमीलाई पञ्जाधीकारीको समेत जिम्मेवारी दिएको मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिएका छन् ।

आठ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि तीन मात्र सचिव छन् । एक सचिवलाई तीन वडासम्मको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताउनुभयो । वडा नं ८ राम्चेमा पञ्जाधिकारीको जिम्मेवारी अनमी बनिका गर्बुजालाई दिइएको छ ।

रासस