जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

मंसिर १, काठमाडौं –राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ ।

जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

चैले–भेना खण्डमा पर्ने समरको भिरलाई जोखिमयुक्त मानिएको छ । सो खण्डको १२ किलोमिटर सडक स्तरोन्नतिको काम कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले पाएको छ । उपल्लो मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक तथा स्थानीयवासीलाई समस्या नहोस् भनेर पूर्वसूचना जारी गरिएको हो ।

रासस