आज हरिबोधिनी एकादशी मनाइदैं

कात्तिक २२, काठमाडौं – एकादशीका दिन औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।

आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।  कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।