पशु वैज्ञानिकहरुको भेला पोखरामा हुदैं

कात्तिक २१, काठमाडौं – पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ ।

नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल हुने एशोसिएसनका अध्यक्ष डा शितलकाजी श्रेष्ठले बताए ।
रासस