‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन गोविन्दा नेपालमा

कात्तिक २०, काठमाडौं – कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन बलि उड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । उनीसँगै नेपालकी अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छिन् ।

गोविन्दासँगै उनकी श्रीमती सुनिता अहुजा पनि नेपाल आएकी छिन् । सुनिता नेपाली मुलकी हुन् यसर्थ गोविन्दा यस अघि पनि केही पटक नेपाल आइसकेका छन् ।

गोविन्दा गत वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । कार्तिक २१ गतेबाट सुरु हुने नेपाल चलचित्र स्वर्णिम महोत्सव कार्तिक २३ गते सम्म चल्ने छ । उनी २१ गते बिहानै वीरगन्ज पुग्ने र आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।