कात्तिक २०, काठमाडौं – मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास (होमस्टे) सञ्चालनमा ल्याएका छन् ।
सदरमुकाम गमगढीबाट पाँच घण्टा टाढा पर्ने माङ्ग्रीगाउँका १५७ घरधुरी लामा समुदाय बसोबास गर्छन् । पहिलो चरणमा करानी समुदाय संस्था केसीडेसीले २५ घरधुरीलाई घरवाससम्बन्धी तालीम उपलब्ध गराएपछि २५ घरधुरीले सामुदायिक घरवास सञ्चालनमा ल्याएका हुन् । माङ्ग्रीगाउँका २५ घरधुरीले सञ्चालनमा ल्याएको घरवास जिल्लाकै पहिलो सामूहिक घरवास हो ।
घरवास सञ्चालनका लागि गाउँपालिकाको समन्वयमा करानी समुदायिक संस्थाले पाँचदिने घरवाससम्बन्धी तालीम सञ्चालन गरेको थियो । सो गाउँको बाटो भएर आन्तरिक तथा बाह्य पर्यटक डोल्पाको शे–फोक्सुण्डो तथा सोही गाउँपालिकाको वडा नं १ मा रहेको छायाँनाथधाम र उपल्लो मुगु जाने आउने गर्छन् । यहाँ जाने आउने पर्यटक तथा अन्य व्यक्तिका लागि सो गाउँमा एक मात्र होटल छ । होटल त्यति व्यवस्थित छैन । घरवास सञ्चालनमा आएपछि बस्न–खानका लागि कसैलाई समस्या छैन ।
यहाँ पुग्ने जोकोही आफू बस्दासम्म चाहेअनुसारको स्थानीय खानाका परिकार, लामा समुदायको परम्परागत धार्मिक संस्कृतिको अवलोकन र मनोरञ्जनको समेत व्यवस्था मिलाइएको छ । रासस